काठमाडौं। नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन्।
रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन्। ३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरेका हुन्।
सुवासले शनिबार भएको खेलमा दक्षिण अफ्रिकाका एल्टिन भान डर मर्वलाई पराजित गर्दै फाइनमा पुगेका हुन्। नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुवास दोहोरो स्वर्ण पदक विजेतासमेत हुन्।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन्।