म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् ।
पहिरोले बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भीर र मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ ।
त्यसैगरी बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नम्बर ३ को गुइँठेलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
उनका अनुसार वर्षा नरोकिएका कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन ।
बेनी–जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ ।
सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीच बाटैमा रोकिएका छन् ।
पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।