ग्वार्को ‘फ्लाइओभर’को नयाँ डिजाइन स्वीकृत



काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिएपछि पुनः डिजाइन गरिएको थियो ।

सडक विभागले नयाँ डिजाइन स्वीकृत गरेसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले उपलब्ध हुन सक्ने उपकरणका आधारमा तयार पारिएको नयाँ डिजाइन स्वीकृत भएको बताए  ।


डिजाइन अनुसारका उपकरण उपलब्ध हुन नसक्ने भन्दै माघको अन्तिम हप्ता काम सुरु गरिएको सो फ्लाइओभर निर्माण असारमा रोकिएको थियो । नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ ।

पहिलाको डिजाइन अनुसार ‘फ्लाइओभर’ को पाइलको सङ्ख्या दुवैतिर चार/चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो तर नयाँ डिजाइन अनुसार पाइलको सङ्ख्या दुवैतिर १२/१२ वटा कायम गरिएको छ ।

त्यसै गरी प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ । ‘फ्लाइओभर’ को मुख्य संरचनाको डिजाइनमा भने कुनै पनि परिवर्तन गरिएको छैन ।