काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् । महराका बाबुछोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको भनी सञ्चारमाध्यममा समाचार आइरहेका बेला बिहीबार सामाजिक संजालमार्फत महराले आफू त्यसमा संलग्न नरहेको जिकिर गरेका हुन् ।
उनले आफ्नो नाम र उल्लेख गरिएको मोबाइल नम्बरसमेत आफ्नो नभएको बताएका छन् । उनले भनेका छन्, ‘केहीदिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको बिषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’