चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला भेला गर्दै नविन राप्रपा अभियान सुरु गरेको छ । राप्रपाको संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले संचालित यो कार्यक्रममा केन्द्रका सवै नेताहरूले भूगोल केन्द्रित जिम्मेवारी बहन गर्नुपर्ने छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अब राप्रपा जनताको घरदैलोमा पुग्ने बताए । उनले राप्रपामात्र मुलुकको हित गर्ने धर्म संस्कृति बचाउने र समृद्धि र सुशासन ल्याउने पार्टी भएकोले ८४ को निर्वाचनमा यही पार्टीले बहुमत ल्याउने दाबी गरे ।
उनले अब राप्रपाका नेताहरू जनस्तरमा गएर जनताको समस्यासँग साक्षात्कार हुनुपर्ने र त्यही संगठनको आधारमा नेता कार्यकर्ताको मूल्यांकन गरिने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै राप्रपाका सहायक महामन्त्री विजय खड्काले राप्रपा अब अग्रणी पार्टीको रूपमा उदाउने र केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा मिसन ८४ मा यसले बहुमत हासिल गर्ने दाबी गरे ।
कार्यक्रममा सहायक महामन्त्री प्रेम वलायर,सहायक प्रवक्ता प्रविणकुमार थोकर,केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य मोनिका श्रेष्ठ, केन्द्रीय सदस्य रञ्जन कार्की, नेता ऋद्धि प्रताप जंगवहादुर राणा, आमन्त्रित केन्द्रीय सदस्य राजन खतिवडा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल वम तथा जिल्ला वरिष्ठ उपाध्यक्ष विष्णु श्रेष्ठले मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रोजेक्टरद्वारा संगठन निर्माण कार्यविधि प्रमुख अतिथि पाण्डे तथा कार्यसम्पादन सदस्य डा.गीताभक्त जोशिले प्रस्तुत गरेका थिए । चरिकोट स्थित होटल एम्व्रोसियाको हलमा संचालन भएको कार्यक्रम जिल्ला अध्यक्ष राजनवहादुर शिवाकोटीको अध्यक्षतामा तथा जिल्ला सचिव रामवहादुर तमाङले उदघोषणमा सम्पन्न भएको थियो ।
जिल्लाको विगु, कालिञ्चोक , भिमेश्वर , शैलुङ, मेलुङ ,वैतेश्वर,तामाकोसी ,जिरी तथा गौरिशंकर गाउँ तथा नगरपालिकामा संगठन निर्माणको लागि नेताहरूलाई ६ महिने जिम्मेवारी तोकिएको छ । कार्यक्रममा विभिन्न दलवाट उल्लेख्य संख्यामा राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तथा समाजसेवी शोभित उप्रेती लगायत जिल्ला, प्रदेश ,गाँउ तथा नगर तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।