सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक : अर्थमन्त्री डा. महत



काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले लेखा (एकाउन्टिङ) लेखापरीक्षण (अडिटिङ) आर्थिक सुशासनसँग जोडिएको विषय रहेको बताएका हुन् ।

अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने बताइसकेकाले चाँडै त्यसबारे निर्णय हुनेमा विश्वास व्यक्त गरे । बैंक तथा वित्तीय क्षेत्रमा तरलता बढाउने, लगानी वृद्धि गर्नेलगायतका सुधारका लागि उचित वित्त नीति र मौद्रिक नीतिको अवलम्बन भएको पनि उनको दाबी छ । सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा पनि अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च लक्ष्यअनुसार नै हुनेमा आशावादी रहेको बताए ।


‘पूँजीगत शीर्षकमा हामीले बजेट धेरै राख्न सकेनौँ । तर छुट्याइएको बजेटलाई पूर्णरुपले खर्च गर्न सक्यौँ भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ’, अर्थमन्त्री महतले भने । कोभिड महामारीका कारण लामो समयसम्म पनि मुलुकको अर्थतन्त्रमा सुधार हुन नसकेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले महामारीको नकारात्मक प्रभाव अहिलेसम्म देखिइरहेको बताए ।

अर्थतन्त्र सुधारोन्मुख रहेको र विगतमा सरकारबाट भएका केही गलत निर्णयका कारण अहिले धेरै दायित्व थपिएको पनि उनको भनाइ छ ।

नेपाल अडिटर्स एसोसिएशन (अडान)ले आज आफ्नो १८औँ स्थापना दिवससँगै ‘अडान डे’ पनि मनाएको छ । अडान डेका अवसरमा आज आयोजित कार्यक्रममा विभिन्न तीनवटा विषयमा कार्यक्रम प्रस्तुत भएका थिए । करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिम, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमा वर्तमान अवस्था र आगामी कार्य र पछिल्लो आर्थिक स्थिति मौद्रिक नीतिको व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत भएका थिए ।

अडानका अध्यक्ष केदारनाथ पौडेलले प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिइभिटी)बाट नेपाल अडिटर्स एसोसिएसनलाई व्यावसायिक लेखा व्यवसाय (प्रोफेसनल अकाउन्टेन्ट)को छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको बताए ।

यसले अकाउन्टिङ व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । ‘अडान डे’का अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।