मान्म । कालीकोटमा गत असोजमा बाढीपहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् । प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही रु दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन् । २३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा नगरपालिका–४ मा मलामी जाँदा पहिरामा परेर १३ जनाको मृत्यु भएका थियो ।
पहिरामा मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेशबहादुर शाही, छत्रजङ्ग शाही, परबहादुर शाही र मोतिलाल शाहीका आफन्तले रु दुई लाखको दरले रु २६ लाख रकम परिपूरणस्वरुप उनीहरुका परिवारले हन्तारन्तरण गरिएको छ ।
बीमाबापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा गर्ने राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण जिसीले पहिरामा परी मृत्यु भएका तिलागुफा–४ राँचुलीका धनबहादुर शाहीका हकवाला खड्कराज शाहीलाई चेक हस्तान्तरण गरे । अन्यका हकमा मृतक परिवारको बैंक खातामा जम्मा गर्ने सहमति भएको छ ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरे ।