संसारीमाईको ‘खोइछ’ भरिँदै



जलेश्वर । मैथिल आस्थाको केन्द्र मानिने जलेश्वरस्थित संसारीमाई मन्दिरमा महापूजा थालिएसँगै माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु निकै बढेका छन् । पाँच–पाँच वर्षमा आयोजना हुने महापूजा यसपालि गत शुक्रबार सुरु भएको हो । आउने शुक्रबार मुख्यपूजाको तयारी रहेको मन्दिरमा अहिले माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु भरिभराउ छन् । महापूजा अवधिमा भाकलस्वरूप माईको पोल्टामा वस्त्रआभूषण, द्रव्य र नरिवलसहितका फलपूmल अर्पण गरिने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ ।

पञ्चवर्षीय महापूजा प्रारम्भ भएसँगै संसारीमाईको दर्शन र पूजाआराधना गर्न दैनिक हजारौँ श्रद्धालु पुग्दैछन् । मिथिलामा श्रद्धालु भक्तजनले भाकलस्वरूप ‘खोइछ’ भर्ने चलन छ । यसअघि माईको पुकारा गरी आफ्नो बह पोखेका भक्तजन यसपालि आपूmले मागेको कुरा पाएपछि ‘खोइछ’ भर्न आएका हुन् । यो क्रम भोलि बिहीबारसम्म चल्ने मुख्य पुजारी ६४ वर्षीय महिन्द्र मुखिया बताउछन् ।


पहिलो दिन महापूजा सङ्कल्प र दोस्रो दिन शोभाकलश यात्रा सम्पन्न गरिएसँगै मन्दिरमा श्रद्धालुले दर्शन, पूजाआराधना र ‘खोइछ’ भर्न थाल्छन् । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवी (संसारीमाई)को सारीको अँचरा (पोल्टा)मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ । यो विधि पुरुषले पनि गर्न सक्छन् । तर ‘खोइछ’ भर्ने कार्यमा महिला सहभागिता बढी देखिने गरेको मुख्य पुजारी मुखिया बताउछन् ।

संसारीमाईलाई सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी, पापनासक र नगर संरक्षक मानिन्छ । संसारीमाईको महापूजा प्रचलन भने ग्राम (गाउँबस्ती) सुरक्षाको अभिष्ट रहेको यसपालिको संसारीमाई महापूजा व्यवस्थापन समिति–२०८० का अध्यक्ष अशोककुमार साह बताउछन् ।

परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिँदै आइएको जलेश्वर नगरवासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेव मन्दिरको सम्मुख वरुण सर (सरोवर, तलाउ) डिलमा संसारीमाईको मन्दिर छ । संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जलेश्वर नगरप्रमुख सुरेश साह सोनार बताउछन् ।

अहिले मन्दिरमा साप्ताहिक महापूजाअन्तर्गत नियमित चण्डीपाठ भइरहेको छ । महापूजा मेलामा भारतीय श्रद्धालुको सङ्ख्या दिनदिनै बढिरहेको समितिले जनाएको छ । अहिले जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुहरूको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँठाउँमा खानेपानी र शौचालय सुविधा बढाइएको नगरप्रमुख साहले बताए ।

धेरैअघि १२–१२ र त्यसपछि सात–सात वर्षमा हुँदै आएको महापूजा पछिल्लो दुई दशकयता पाँच–पाँच वर्षमा आयोजना गरिन थालिएको हो । श्री संसारीमाईको महापूजा जलेश्वर नगरका लागि महापर्व भएको आम नगरवासी बताउँछन् ।

श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका घर–घरैजसोबाट पशुपक्षी बलि दिइन्छ । सन्सारीमाईलाई बोका, परेवा÷कुखुरा, भेडा, सुँगुर र राँगा बलि दिने चलन छ । यो महापूजा (एकअर्को महापूजाबीचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ ।