काठमाडाैँ । नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
काठमाडौँमा साँझदेखि हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ । बदलीसँगै वर्षाका कारण सो क्षेत्रको उडान प्रभावित भएको जनाइएको छ । महाशाखको पछिल्लो विवरणमा आज सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ । नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो ।