बङ्गलादेशमा आधा शताब्दीयताकै उखरमाउलो गर्मी, हजारौँ विद्यालय बन्द



ढाका । बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ ।

राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ ।


“सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,” बङ्गलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।

सरकारले दशौं हजार प्राथमिक विद्यालयहरू बन्द गरिदिएको छ र एयर कन्डिसनर र पङ्खाहरूको माग बढेपनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ ।

सोमबार, त्यहाँको सरकारले सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।

गत वर्ष अमेरिकी डलरको तुलनामा बङ्गलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत उपयोगिताको लागत बढेको छ ।

अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौंसम्म लोडसेडिङ भएको छ ।