चोरी नियन्त्रण गर्न थप फोर्स परिचालन



गोरखा । बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ । दिनहुँजसो सौरपानी क्षेत्रमा चोरी डकैतीको शृङ्खलाबद्ध घटना बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको विशेष सुरक्षा टोलीसमेत आज सौरपानी पुगेर जनप्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरेको उनले बताए । त्यसबाहेक अन्य तीन ठाउँमा अस्थायीरूपमा प्रहरीको टोली राखेर परिचालन गर्ने निर्णय पनि भएको उनले बताए । गएको केही समयदेखि सौरपानी क्षेत्र चोरी डकैतीको घटना बढ्दै गएपछि त्यहाँका स्थानीयवासी त्रासमा छन् ।


साँझ परेपछि चोरी डकैतीको घटना हुने र स्थानीयवासी हिँडडुल गर्नसमेत नसक्ने अवस्था रहेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन स्थानीयवासीले माग गर्दै आएका थिए । गोरखाका प्रमुख जिल्ला दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम खनालसहितको टोली आज सौरपानी पुगेर सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए ।

जनप्रतिनिधि, स्थानीयवासीसँगको छलफलपछि चोरीका घटना नियन्त्रण तथा शान्ति सुरक्षाका लागि सादा पोशाकमा प्रहरीसमेत परिचालन भएको उनले बताए । प्रहरी र स्थानीय युवाको सुरक्षा सक्रियता बढेपछि स्थानीवासीसमेत खुसी भएका छन् । सौरपानीस्थित वडा कार्यालयमा भएको छलफलमा बारपाक–सुलिकोट–४ सौरपानीका वडाध्यक्ष भीम गुरुङ, वडा सदस्यलगायतका स्थानीयवासीको सहभागिता थियो ।