करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा अनुबन्धित



काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल–इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।


रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् । सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जेमा त्यहाँ ६४८ खेल खेलेका थिए । उनले रियलका लागि अन्तिम खेलमा एथ्लेटिक विल्वाओ विरुद्ध १–१ को बराबरीमा पेनाल्टीबाट गोल गरेका थिए ।