ए डिभिजन लिग : मछिन्द्र दोस्रो स्थानमा



काठमाडाैँ । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे भने विमल घर्तीमगरले एक गोल थपे । यता हिमालयन शेर्पाका लागि पिस्टोन मुटुम्बाले एक गोल फर्काए । खेलको २६औँ मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । उनले पुजन उपरकोटीको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गरे ।


त्यस्तै खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७७औँ मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । जसको सदुपयोग आलावालेले गरे ।

त्यसपछि खेलको ९०औँ मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत एक गोल फर्काए । यस जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको हो । पराजित हिमालयन शेर्पाले २५ खेलमा ३१ अङ्क जोडेको छ ।