उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरको तयारी



वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेको ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ।

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको छ।


उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले बताइन्।

बेरोजगार रहेका स्थानीयलाई कृषि कर्ममा आकर्षित गरी आत्मनिर्भर बनाउन र किसानहरुको आयआर्जन बढाउने उदेश्यले उपयोगविहीन रहेको खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएको महानगरका मेयर राजेशमान सिंहले बताए।

बुधबार जग्गा छुट्टाउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितका संयोजक प्रदीप चौरसिया, मेयर सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवालाल साह लगायतको सहभागिता थियो।