प्रदेश सरकारलाई अहिले विश्वासको मत दिने अवस्था छैनः नेता आङ्बो



विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी प्रदेशको नाम राख्ने निर्णयबाट फिर्ता हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेपछि प्रदेश सभामा बोल्दै उनले प्रदेशलाई दुर्घटनातर्फ लैजान नहुने भन्दै जनता नै असन्तुष्टि भएकाले सच्चाउन आग्रह गरेका हुन् ।

उनले पहिचान सहितको नाम राख्ने कुरामा आफूहरुले तत्कालीन समयमै फरक मत राखेको भन्दै अब सच्चाउने समय भएको बताए । उनले प्रदेशलाई दुर्घटनातर्फ लैजान नहुने भन्दै यसमा सबै एकमत हुनुपर्ने माग गरे । तत्कालीन समयमा कोशी प्रदेश नाम राख्ने कुरामा एमाले, माओवादी र नेपाली कांग्रेससहितका दलहरु एक मत भएका थिए।


कोशी नाम राख्ने कुरालाई लिएर विरोध भएपछि माओवादीले पहिचानको पक्षमा बोल्दै आएको छ । उनले सत्ता गठबन्धन छोड्नुपर्ने कारण केन्द्रको असन्तुष्टि भएको बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा एमालेले देखाएको व्यवहार र नागरिक ऐनमा भएको विरोधका कारण आफूहरु सरकारमा बस्न नसकेको बताए । यही कारण एमालेसँगको सहकार्यको ढोका बन्द भएको भन्दै उनले अहिले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे ।