‘गर्मीले तराईको जनजीवन कष्टकर भयो’



काठमाडौं । सांसदहरूले तराई-मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई-मधेसका जिल्लामा गर्मीका कारण लू चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराए ।


सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्सियस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गरे ।

सांसद नारायणी शर्माले दाङको सीमा नाका क्षेत्रका बासिन्दाका लागि खानेपानी शिक्षा स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद निशा डाँगीले बागमतीका नाममा धेरै राजनीति भएको सरसफाइका नाममा करिब रु २२ अर्ब खर्च भइसकेको तर अझै प्रभावकारी काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रतिक्षा तिवारीले बागमती अधिकार सम्पन्न समितिलाई बागमती सभ्यता सुधारका ०.५ प्रतिशत कर रकम उठाइँदै आएको करिब सात अर्बभन्दा बढी रकम जम्मा भइरहेको अवस्थामा त्यसको प्रभावकारी उपयोग गर्न आग्रह गरिन् ।

सांसद प्रभु साहले किसानका बालीनाली जङ्गली जनावरले नाश गर्ने गरेको अवस्थामा आवश्यक क्षतिपूर्ति नपाएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले मुलुकका ठूला जलविद्युत् आयोजना निर्माणको जिम्मा विदेशीलाई नदिइ नेपाल सरकार आफैँले बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद वसन्तकुमार नेम्वाङले मुलुभर गाईबस्तुमा महामारी रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद बीना देवीले रौतहटमा रहेको चिनी मिल बन्द भएको जनाउँदै शीघ्र सञ्चालनका लागि माग गरिन् । सांसद विनिता कठायतले पोर्चुगलमा रहेको नेपालीले नेपाली दूतावास स्थापनाको माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।