काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको स्थानमा विन्दावासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
ढाकाकुमारको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथसाथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटोका म्याद बाहेक १५ दिनभित्र विपक्षी नम्बर ७, ८ र ९ को हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत र अन्य विपक्षीहरूको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखितजवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना जारी गरी सो को बोधार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिई म्याद भित्र लिखित जवाफ परेवा अवधि नाघे पछि नियमानुसार पेश गर्नु।’
अर्को आदेश नभएसम्म श्रेष्ठको सांसद पद रिक्त भएको मानी उनको स्थानमा प्रतिनिधि सभा सदस्य पदमा विपक्षी मध्येका कंसाकारलाई स्थापित गर्ने निर्णय कार्यान्वयन नगर्न पनि आदेश दिएको छ।
आदेशमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिति २०७९ चैत २९ मा भएको निर्णय र सो सम्बन्धी पत्राचार एवं काम कारबाहीहरू थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) को खण्ड (क) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्नका लागि पार्टी नेतृत्व आसपासको कोर टिमलाई बुझाउन भनी दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यबाट निष्कासन गर्दै सांसदबाट पनि हटाउने निर्णय गरेको थियो । उक्त निर्णय भएकै दिन श्रेष्ठलाई सांसदबाट हटाएपछिको रिक्त स्थानमा समानुपातिक सूचीकी कंसाकारलाई सिफारिस गर्ने पनि निर्णय गरेको थियो ।
स्वतन्त्र पार्टीको निर्णयबमोजिम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद नरहेको सूचना सभालाई जानकारी गराएका थिए । त्यसपछि निर्वाचन आयोगले रिक्त पदमा कंसाकार निर्वाचित भएको भन्दै प्रमाणपत्र दिएको थियो । कंसाकारले शपथ लिन भने बाँकी नै छ ।