सम्पादकीय : जनताको पक्षमा निरन्तर खबरदारी गर्ने प्रण गर्दछाैं, गणतन्त्र दिवसकाे शुभकामना !



देशको १६ औं गणतन्त्र दिवसका अवसरमा ईएनटि डटकम परिवार समस्त पाठक, दर्शक , विज्ञापनदाता, शुभेच्छुक र समर्थकहरुमा सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

जग जाहेर छ गणतन्त्रका १६ वर्षले आम जनको मन फुरुंग भएको छैन । जनजनले घरघरमा हर्ष बढाईं गर्ने उत्सवहरुको पनि महाउत्सव बनेको छैन । जनताका शासकहरुप्रति घृणा र आक्रोशको पहाड चुलिदो छ । व्यवस्था परिवर्तनका युगिन उपलव्धीले आम भूईमान्छेका चुलो, चौका र जीवन दैनिकीमा सुखानीभुति गराएकै छैन ।


देशले शुशासनको बदला भ्रष्टाचार, अनियमितता र कुशासनमै कैद हुनु परेको यथार्थ कसैका सामु छिपेको छैन । नागरिकले राज्यका हरेक क्षेत्रमा राहतका बदला आहत हुनु परेकै छ । देशको गणतन्त्र निश्चित दलहरु र तिनका ठुला ठालु टाउके नेता विशेषको बिर्ता प्रमाणित गर्ने भगिरथ प्रयत्नहरु भएकै छन । दल बलिया हुने, दलका नेता कार्यकत्र्ता मालामाल हुने कुप्रणाली र अभ्यासले मानिसहरु बेचैन छन ।

व्यवस्था बदलिदैमा जनताको अवस्था बदलिदैन भन्ने गलत भाष्य स्थापित भैरहेकै छ । जनचाहाना र जनआकाँक्षा एकातिर शासनसत्ता अर्कोतिर भैरहेको तीतो यथार्थ हो । जनतामा व्याप्त चरम निराशा र आक्रोशले अर्को विशाल जनविद्रोहको पूर्व घण्टी बजाईरहेकै छ । जनताको उकुशमुकश र सुसुप्त वेचैनीले आँधि आउनु पूर्वको सन्नाटालाई संकेत गरिरहेको छ ।

यस्तै, यस्तै जनविरोधी शासकीय हर्कतहरुका आलोकमा जय गणतन्त्र, गणतन्त्र जिन्दावाद भन्दै नागरिकहरु घर घरमा गणतन्त्रको दीपावली मनाईरहेका छैन्न । र, पनि नेपाली राजनीतिक परिवर्तनको ईतिहासमा गणतन्त्र साँच्चो अर्थमा जनताको बलिदानपूण संघर्षको जगमा स्थापित विश्वस्वीकृत उन्नत शासकीय उपलव्धी नै हो । जनताले आफ्ना असल शासक आफै चयन गर्ने सर्वोत्तम राजनीतिक प्रणाली नै हो ।

गणतन्त्र एक जनताको व्यवस्था हो । तर यसका संचालक र नेतृत्वकत्र्ताहरु भ्रष्ट, नालायक र असक्षम साबित हुदा नागरिकमा असंतुष्टी र बेचैनी बढेको हो । खासमा गणतन्त्र व्यवस्था आफैमा खराब, असफल भएको हैन, गणतन्त्र व्यवस्थाका शासकहरु निकम्मा र फेल भएका हुन ।

आफू, आफ्नो परिवार, आसेपासे र दल केन्द्रीत व्यक्ति शासक वा दलीय शासकहरुले नै गणतन्त्रलाई आम जनताका सामु जुन जोगी आए पनि कानै चिरेको भने झैं बनाएका हुन । यहाँ दोष व्यवस्थाको हैन, व्यवस्थाका नालायक संचालकहरुकै हो ।
त्यसकारण, आम रुपमा गाली गणतन्त्रलाई हैन, खास नेता र दलहरुको संकीर्ण नेतृत्व, कुशासन र भ्रष्ट प्रवृत्तिमाथि गरिनुपर्छ । यही नै हो, गणतन्त्रलाई जनमुखी र देशहितकारी बनाउने सरल बाटो र उपाय । नेता र दलतन्त्रको नालायकीको जगमा गणतन्त्रलाई बदनाम र दण्डित गर्ने नागरिक भुल भयो भने त्यसले फेरि अर्को निरंकुशतालाई आमन्त्रण गर्छ । जनताले अब कुनै प्रकारको अर्को निरंकुशताको कल्पना गर्न सक्दैन्न ।

त्यसैले त जनजनले घरघरबाट जयगणतन्त्र नै भन्नुपर्छ । गणतन्त्रका खराब शासक दल र नेताको उछितो काढेर, जनताको दुख बुझ्ने शासक र दल छान्न सक्नुपर्छ । सुधार दलहरुभित्र, नेतृत्वभित्र र नेताभित्र गराउने गरी जनता दबाबी भूमिकामा उत्रनुपर्छ । व्यवस्थासंगै जनताको दारुण अवस्थामा परिवर्तन ल्याउन सबैले आआफ्नो गच्छे अनुसार दमदार खबरदारी गर्ने उर्जा र प्रेरणा १६ औं गणतन्त्र दिवसले दिन सक्नुपर्छ । यही नै हो गणतन्त्र दिवसको शुभकामनाको मर्म, भावना र औचित्य ।

ईएनटि डट कम परिवार १६ औं गणतन्त्र दिवसलाई फगत एक औपचारिकतामा सीमित नगरी जनताको पक्षमा निरन्तर खबरदारी गर्ने प्रण गर्दछ । जनताको भात भान्सा, बजार र अर्थतन्त्रलाई टेवा दिने गणतन्त्रको पक्षमा हरदम हरपल ईएनटि डटकमले आफ्नो कर्म र धर्म निर्वाह गरिरहनेछ ।

शासकीय भुलसुधारका लागि खबरदारी, दलीय कुशासनको भण्डाफोर र नेतातन्त्रको समुल बिघटनका लागि ईएनटि डट कम परिवार अक्षर, आवाज र दृश्यका साथ सधै सधै जनताको पक्षमा जनतासंगै हाजिर हुने वाचा गर्दै, पुनः एकपटक जय गणतन्त्र, गणतन्त्र जिन्दावादको शुभकामना भन्न चहान्छ ।। जय होस सबको ।