संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी 



काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । केही समयअघि सिंहदरबारमा परिषद् बैठक सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो भएको छलफलपछि संवैधानिक परिषद् बैठक आज बसेको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि पनि बैठक बसेको थियो । तर, कुनै निचोड निस्किएको थिएन । 


यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,  कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।