कैद मिनाहा र आममाफीको इतिहास



जेपी गुप्ता ।
कैद मिनाहा र आममाफी बक्सिनु र दिइनुको हाम्रो लामो इतिहास छ। अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने ? यही द्विविधासँगै हिडेको छ यो इतिहास । संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रान्तिकारी कहलिएका छन् । जो असफल भए ति अपराधी भए । तिनलाई उन्मुक्ति दिइनु हुन्न भनिन्छ। एमालेका रत्न वान्तवा पञ्चायतकालमा अपराधी सरह मारिए । उनीसँगै लागेकाहरू पछि माफी पाए अहिले राज्य भएका छन् । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला उपर राज्य बिरूद्धको अपराध, विमान अपहरणको मुद्दा थियो, विमान अपहरणको मुद्दा चक्र बास्तोला समेतका उपर भारतमा पनि थियो। चक्र बास्तोलालाई ०४८ तिर भारतका लागि राजदूतमा नियुक्त गरिएपछि सोही मुद्दाका कारण भारत सरकारले एग्रीमो पठाएन । गणेशमान् सिंहलाई भारतका राष्ट्रपतिले नेपालका दक्षिण एशियाका गान्धी भनेका थिए। काँग्रे कै चक्र बास्तोला तेतिन्जेल फौजदारी अपराधका अभियुक्त थिए भारतमा ।

राजा वीरेन्द्रबाट नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्सेर जबरा लगायत सयौंलाई आम माफी दिइएको थियो। सुवर्ण जीले नेपाली काँग्रेसको नेतृत्व गर्दै बि.स. ०१८ सालमा राजाका बिरूद्ध सशस्त्र विद्रोह चलाएका थिए। कयौं सेना पुलिसको हत्या भयो। चितवनमा सेनाले पनि दर्जनौं काँग्रेसीलाई ज्यूँदै पुरेर मारेका थिए। ती अदना मानिसहरू थिएनन्। बखान सिंह गुरूंगका छोराहरू मारिए, पुरिए । जगतजंग प्रकाश कुनै बेनामी मानिस थिएनन्। महान व्यक्तित्व बालकृष्ण समका ज्वाईं छोरी रश्मीका पति थिए । सेनाले यिनलाई हत्या गरेर खाल्डो खनी पुरेका थिए।


रामराजा प्रसाद सिंहलाई मुलुकको सर्वोच्च नागरिक पदक दिइयो। पदकको नाम मलाई याद भएन। कुनै समय, पञ्चायतको शासनमा, ०४२ तिर राष्ट्रिय पञ्चायतको भवनमा, राज परिवार संलग्न रहेको होटेल अन्नपुर्णमा कयौं बम बिष्फोट गराएका थिए। कयौं मानिसको ज्यान गयो। त्यस बिषयमा मेरा समकक्षी साथीहरू साकेतचन्द्र मिश्र, हरि भुजेल झोलहरू आज पर्यन्त बेपत्ता छन् । डा. लक्ष्मी नारायण झालाई थुनामा नै मारियो, सँगै यातना भोगेका जनकपुरका युगलकिशोर कर्ण आज पनि कहालीलाग्दो संस्मरण सुनाउन छन् । गणेश साहजी अहिले माओवादी पार्टीका एक बौद्धिक नेताको रूपमा त्यस घटनालाई याद गर्दा हुन्। यस बम काण्डका कारण रामराजाप्रसाद सिंहलाई मृत्यूदण्ड सुनाइयो। सर्वोच्च अदालतले सदर गर्यो। रामराजा प्रसाद सिंह, उनका भाइ लक्षमण प्र. सिंहलाई मृत्यदण्डका साथ सर्वस्वहरण गरियो। करौडौं करोडको सप्तरी र सिरहाका जग्गाहरू सरकारले कब्जा गर्यो। मुलुकमा संसदीय प्रजातन्त्र आयो, कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पनि आममाफी दिइएन। बरू नेपाल मै जेल बस्छु तर मुलुक फर्कन्छु भनी अड्डी लिँदा पनि भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले फर्कन प्रतिबन्ध लगाए।

फलतः मुलुकमा बहुदल पुनर्स्थापित भएपनि रामराजा प्रसाद सिंह पहिलो आम निर्वाचनमा सहभागी हुन पाएनन्। त्यस निर्वाचनमा रामराजा सिंहको पार्टीले भाग लिएको भए मधेस क्षेत्रमा नेपाली काँग्रेसलाई नोक्सान पुग्ने थियो–गुह्य जानकारी राख्नेहरू यसैलाई कारण बताउँछन्।
सिके प्रसाई नेपाली काँग्रेसका अद्वितीय प्रकारका नेता थिए, भूबिक्रम नेम्वाङका झैं । अनेकन् फौजदारी अभियोगका कारण भारतमा निर्वासित थिए। राजाबाट आममाफी पाएर मात्र नेपाल फर्किन पाएँ। सोचौं, यदि सिके प्रसाई, रामबाबु प्रसाई, भूबिक्रम नेम्वाङ, मच्छेन्द्र केरूंग, गोपाल राई, तुर्सा हेमरम जस्ता ठूला नेताहरू जो कुनै समय विभिन्न फौजदारी अभियोगमा आरोपित रहेर भारतमा निर्वासित रहनु परेको थियो–यदि आममाफी नदिइएको भए के हुन्थ्यो? अहिले चरण प्रसाई जी याद गर्दैनन् । तर, नेकाका ठूला नेता रामबाबु प्रसाई उपर त गौ हत्या कै मुद्दा चलाइएको थियो। रामबाबुले अदालतमै मुद्दा कबुलेका थिए। अदालतले त सजायँ नै तोकेको थियो। यदि राजनीतिमा माफी मिनाहाको कुरा नहुने भए यतिंजेलसम्म मुलुकका प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनका सयौं रामबाबु प्रसाई तथा मोहनचन्द्र अधिकारीहरूको राजनीतिको उहिल्यै भ्रुण हत्या भैसकेको हुन्थ्यो।

जन्म कैदको सजायमा जेल रहेका बालकृष्ण ढुंगेल यसअघि कैद मिनाहामा रिहा भए । एमालेले यसलाई मन पराएन, लगतै उनी एमालेमा प्रवेश गरे त्यहाँका नेता भए। फेरि एमालेले कहिले पनि कैद मिनाहाको आलोचना गरेन । राजाको शासनमा दरवारका खिचलोका कारण कयौंका उपर गम्भीर फौजदारी अभियोगमा मुद्दा चलाइयो। थुनियो, जेल परे, अदालतले, सैनिक अदालतले सजायलाई अनुमोदन गर्यो। यसै मध्येका पूर्व प्रहरी आईजिपी डिबी लामा बहुदल आएपछि माफी पाए । अरूहरूले पनि माफी पाए । डिबी लामा त सांसद पनि भए। कति लामो कथा कथु हजुरहरू !

रेशम चौधरी संलग्न रहेको भनिएको टीकापुर बारदातका बारेमा सत्य तथ्य आउनै बाँकी छ, आउला। मैले जाने बुझेसम्म त्यसघटना पछि ‘स्ट्रीट ट्रायल’ को आधारमा प्रहरीले अनुसन्धान गर्यो। प्रहरी स्वयं त्यस बारदातको एक पक्ष हो। प्रतिशोधी पक्ष। मुद्दा दायर भयो, सर्वोच्च अदालतले रेशमलाई दोषी करार गर्यो। अहिले सरकारले कैद मिनाहाका साथ माफी दियो। समाज तरंगित भएको छ ।

भारतका पूर्व प्रम राजीव गान्धीको हत्या भयो। यो सामयिक संसारकै ठूलो र जघन्य आतंकवादी घटना थियो। कयौंका उपर अपराध साबित भयो। मृत्यूदण्डको सजाय दिइयो। सोनिया गांधीले मृत्यूदण्ड नदिनोस् भनेर आग्रह गरिन् । हालै जेलमा गएर पिताका हत्याराहरूलाई छोरी प्रियंका गांधीले भेंट गरिन र रिहा गरि दिनोस् भनी। समाजमा, मानिसहरूमा दण्ड भावनाको प्रचुरता भएर मात्र हुन्न करूणाले पनि स्थान पाउनु पर्दछ। रेशम रिहा भए । अब प्रतिशोधलाई सबैले बिर्सनुस् र रेशमले जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून् । यसको लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ। मुलुकका सामु अरू धेरै कुराहरू न्याय तथा निसाफका लागि पर्खि बसेको छ। अब सक्नु हुन्छ भने त्यतातिर लाग्नुस् हजूर ।