काठेखोला लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण सुरु



बलेवा । लामो समयको प्रतीक्षापछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजनाको परीक्षण सुरु भएको छ ।

गत आइतबारदेखि निर्माण व्यवसायीले काठेखोलाको पानी शुद्धिकरणस्थल र शुद्धिकरणस्थलबाट वितरण ट्याङ्कीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो । आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीका अनुसार लिफ्टिङमा आउनसक्ने समस्या, वितरण ट्याङ्कीसम्मको पाइपलाइन, पानी शुद्धिकरणस्थल र अन्य प्राविधिक विषयहरुको परीक्षण थालिएको छ ।


परीक्षण सफल भएमा आगामी एक महिनाभित्र आयोजना हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको छ । आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको सङ्घीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीले बताए ।

परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म र कैलामपोखरीदेखि वितरण ट्याङ्कीसम्म छुट्टाछुट्टै परीक्षण भइरहेको छ । आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा शुद्ध खानेपानी आउने छिट्टै वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन नसकेको हो । दुई वर्षमा आयोजना सक्नेगरी २०७५ साल असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी काम भइरहेको हो ।

रु ३२ करोड २५ लाखको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए ।

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६ सय ३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि काठेखोला किनारमा पाँचवटा व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौवटा र वितरणका लागि दुईवटा ट्याङ्की तयार भएका छन् भने खोला किनारका इनारदेखि वितरण ट्याङ्कीसम्म पाइपलाइनको पनि परीक्षण भइरहेकोे इन्जिनियर अधिकारीले बताए।

अहिले बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना निर्माण थालिएको थियो । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।

सहलगानी आयोजना सुरु हुँदा नेपाल सरकारले सञ्चालन गरेको (लिफ्टिङ खानेपानी) सहलगानी आयोजना नेपालकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको यो आयोजना सम्पन्न भए बागलुङवासीलाई चोबिसै घन्टा पानी उपलब्ध हुनसक्छ । आयोजनामा नेपाल सरकारको ७० र उपभोक्तको ३० प्रतिशत लगानी भएको छ । आयोजनाले काठेखोलाबाट प्रतिसेकेन्ड ७० लिटर पानी तान्ने योजना छ । प्रतिसेकेन्ड ४० देखि ५० लिटरसम्म पानीको माग रहेको बागलुङ बजारका झन्डै चार हजार धारामा यस आयोजनामार्फत चौबिसै घण्टा पानी खसाल्ने लक्ष्य रहेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।