उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते



इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन् ।

प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका प्रहरी घाइते भएका छन् ।


आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ । घाइते प्रहरीहरूको नजिकैको अस्पतालाम उपचार जारी छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रदेशका १२ जिल्लामा पाँच वर्षमुनिका ३५ लाखभन्दा बढी बालबालिकालाई खोप खुवाउने उद्देश्यले सोमबारदेखि पाँच दिने पोलियो अभियान शुरु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको भर्खरैको रिपोर्ट अनुसार जनवरी २०२१ देखि पाकिस्तानमा रिपोर्ट गरिएका सबै नयाँ पोलियोका घटनाहरू खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागका रहेका छन् ।