रामचन्द्रजीलाई राष्ट्रपति बनाएँ, गोविन्दलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : देउवा



दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका छन् ।

बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यसअघि निर्वाचित रामचन्द्र पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका हुन् ।


सभापति देउवाले भट्टराई रामचन्द्र पौडेलजत्तिकै योग्य रहेको बताउँदै भने, ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ । तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’

उनले तनहुँमा भट्टराईलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने बताए । देउवाले भने, ‘यो चुनावबाट जे भए पनि सरकार फेरिने होइन, अब पाँच वर्ष यही गठबन्धनको सरकार हुन्छ । तपाईंहरूले गोविन्दजीलाई जिताउनुभयो भने तनहुँको विकासमा सहयोग पुग्छ ।’

यसअघि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भट्टराईलाई जिताउन अपिल गरेका थिए । उनले पनि गोविन्द भट्टराई जिताएर पठाए मन्त्री बनाउने आफ्नो जिम्मा भएका बताएका थिए ।