गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल



काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् ।

मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् ।


उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो परिस्थीतिमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् । उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरूबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए ।

उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए ।