कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार



काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उहाँ निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए । ‘डा. भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ’, न्यौपानेले भने ।


पछिल्लो समय डा भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए । डा. भण्डारीलाई दैनिक तीन/चार पटक हिँडाउने गरिएको छ । आगलागीमा परि सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।