सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार होः सांसद शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकार वास्तविक मिटरब्याजी भएको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा शाहीले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका हुन् । उनले ब्याज तिर्न नसकेर एक सयजना व्यवसायी मृत्युवरण गर्नुपर्ने अवस्थामा रहेका भन्दै उनले सरकारले ८.५ प्रतिशत ब्याज खाइरहेको आरोप लगाए ।


उनले भने,’जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो । सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’