काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले दुर्गममा जान नचाहने गुनासो गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा मन्त्री मोदीले कर्मचारीले सुगम र सिंहदरबार वरपर मात्र बस्न खोज्ने गरेको गुनासो गरेका हुन् ।
पठाएका कर्मचारी हाजिरै गर्न नगएको भन्दै उनले कतिपयलाई भने हाजिरै नगराएको अवस्था आफूले पाएको बताए । उनले भने, ‘कर्मचारी विकट सुन्न चाहँदैन । ५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । सबै काठमाडौंवरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ ।’
उनले २४१ स्थानीय तह निमित्तको भरमा चलिरहेको भन्दै आफू आउनेबित्तिकै ६० स्थानीय तहमा प्रमुख पठाइसकेको बताए । उनले सांसद, मन्त्रालयका अधिकारीले आफू अनुकूल कार्यकारी खोजेको बताए । उनले संघीय निजामती सेवा ऐन पेचिलो बनेको भन्दै अहिलेनै सबै कुरा प्राप्त गर्न खोज्यौं भने समय लम्बिन सक्ने बताए ।