उपचुनावको परिणाम : ठुला दलहरु साँच्चिकै कै सच्चिने की पुरै सिद्धिने ?



२०८० वैशाख १० मा देशका तीन शहर तनहुँ १, बारा तथा चितवन २ मा संवैधानिक अनिवार्यताका कारण सम्पन्न उपचुनावको अन्तिम परिणामले पुराना र ठुला राजनतिक दलहरुलाई साँच्चिकै कै सच्चिने की पुरै सिद्धिने ? भन्ने यक्ष प्रश्नको घेरामा धकेलेको छ । काँग्रेसले तनहुँमा व्यहोरोको पराजय उसको संसदीय अंकगणितमा १ सिट घाटा हो । झन आफैंले जन्माई, हुर्काई, बढाई गरी लाभका पदहरु दिईदिई पुल्पुल्याएका डा. स्वर्णिम वाग्लेले नै काँग्रेस छोडेर बहालवाला राष्ट्रपतिको निर्वाचन क्षेत्रमा पाएको सफलताले काँग्रेसलाई भुईतिर हेर्न वाध्य पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट वाग्लेले जितेका मात्र होइनन्, काँग्रेसको गढमा नै धाबा बोलेका छन ।

चितवन २ मा रवि लामिछानेको पहिलो भन्दा भारी मतान्तरको विजयले पुराना र ठूला भनिएका दलहरुलाई जनताले बाई बाई र नयाँ दललाई, खासगरी रबिलाई हाई हाई नै गरेको पुष्टि भएको छ । मतदान मार्फत जनताले रविको पक्षमा जाहेर गरेको मत, चाहे जे सुकै कारणले होस, आलोपालो सत्तामा बसेका काँग्रेस, एमाले र माओवादी दलप्रतिको व्यालेट विद्रोह नै हो । तीन वटै क्षेत्रको उपचुनावमा शर्मानक रुपमा काँग्रेस उपविजेता सीमित हुदा नेकपा एमाले निम्छरो मतसहित तेस्रो स्थानमा दरिनुले एमालेको लोकप्रियतामाथि पनि जनादेशले प्रश्न उठाएको छ ।


बारा २ मा जसरी पनि चुनाव जितेर संसद छिर्ने उपेन्द्र यादवको संसद र सत्तामोहको तृष्णा पुरा भएको छ । तर सिंगै १० दलीय सत्ता घटकका साझा उम्मेद्धवार यादवको यो जीत औसत सफलता मात्र हो, जसपा मधेशको मसिहा शक्ति भएको प्रमाण होईन । प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी जस्ता दलका लागि उपचुनाव खास रमिता शिवाय केही थिएन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बारा २ मा बलियो प्रतिपक्ष, प्रतिष्पर्धीको जनाधार उपचुनाव मार्फत देखाउन सकेको छ ।

खासमा जनताका लागि उपचुनाव हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै हो । सत्तारुढ घटकहरुका लागि मात्र होईन मुख्य विपक्षी एमालेका लागि पनि उपचुनाव केवल घाटाको राजनीतिक मेलामा सीमित भयो । रवि नेतृत्वको रास्वपाका लागि जनाधार र जनसमर्थन देखाउदै एक सिट साँसद थप गर्ने फाईदाको चुनावी मेला बन्यो ।

मतदाता अब दलका बन्दी होईनन्, नयाँ परिवर्तनकारी शक्तिका पक्षपाती छन भन्ने सत्य चुनावी नतिजाले देखाईरहदा रबिको दल पुराना र ठुला दलहरुका लागि चुनौतिका रुपमा खडा भएको छ । अब नयाँ दलहरुलाई वाचा पुरा गरेर जनताको विश्वास जोगाईराख्ने चुनौतिपूर्ण अवसर थपिएको छ भने पुराना, ठुला दलका लागि कार्यकत्र्ता वा गुट केन्द्रीत हुन छाडेर जनता केन्द्रीत हुने जनादेश मिलेको छ । यही उपचुनावले ठुला दलको भविष्य सकिएको त होईन, तर यो ठुला दलको विपक्षमा देखिएको जनउभारको झिल्को भने पक्का हो । यसलाई सबकका रुपमा स्वीकार गर्नु ठुला दलका लागि निर्विकल्प छ ।

समग्रमा उपचुनावको बोझिलो कार्यसूचि सकिएकाले अब जननिर्वाचितहरुले जनताको पक्षमा रातोदिन काम गरे भने मात्र मतदाताको व्यक्त भावनाको कदर हुनेछ । त्यतातिर संवन्धित विजेता लगायत सबैको ध्यान जान आवश्यक छ ।