काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बिहिबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
“कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ, त्यो अनुकूल वातावरण बनाउनुछ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।”
उनले बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको चर्चा गर्दै साँच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले एकातर्फ सीमित स्रोतसाधनका बाबजुद धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको बताए । नीति र विधि छाडेर अनावश्यक दबाबमा आफूले काम नगर्ने श्रेष्ठको भनाइ थियो । उनले भने, “अनावश्यक दबाब हामी झेल्छौँ, मैले झेल्छु, म विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन गर्दछु, तत्काल के के गर्नुपर्छ भन्ने सूची बनाउनुस् । त्यो सूची आओस् हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ ।”
उपप्रधानमन्त्री श्रेष्ठले यथास्थितिमा जस्तो चलिरहेको छ, त्यस्तै चलिरहोस् भनेर अब नहुने बताउनुभयो । अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । ब्रिफिङका क्रममा विभागका अधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुद धेरैको व्यवस्थापन गर्नुपरेको र क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका थिए ।