सत्ता गठबन्धनले टुङ्ग्यायो मन्त्रालय भागबण्डा, बिहीबार बेलुकीसम्ममा मन्त्रिपरिषद विस्तार हुने



काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) लाई दुई, जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय दिने सहमति भएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा) लाई एक, नेपाल समाजवादी पार्टीलाई एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको एक नेताले जानकारी दिएका छन् । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले बताएका छन् ।


मन्त्रिपरिषद विस्तार भने बिहीबार मात्र हुने भएको छ । बुधबार साँझ बसेको सत्ता गठबन्धन कोबैठकले बिहीबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद विस्तारबारे सैद्धान्तिक सहमति जुटेको र बिहीबार बेलुकासम्म नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने जानकारी दिए । उनले भोलि सबै पार्टीले मन्त्रीका लागि नामहरू प्रधानमन्त्रीलाई बुझाउने बताए ।

उनले बुधबार बसेको सत्ता गठबन्धनको दोस्रो बैठकले सरकारको न्युनतम साझा कार्यक्रममा लिखित र मौखिक सुझाबसमेत दिने काम भएको बताए ।