वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा



काठमाडौं । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दु:खपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ ।

साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाएका छन् र उनका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् ।


जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित भएका हुन् । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ ।

पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गर‍े । उनका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ ।

क्यानडामा बसोबास गर्दै आएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’ (किनारा) र प्रिजनर अफ एन आइप्याड(आइप्याडको बन्दी) शीर्षक कविता सङ्ग्रह र ‘सेकेन्ड इन लभः शर्ट स्टोरिज’ (प्रेममा दोस्रोः कथाहरु’ र ‘गोइङ होम’(घर जाँदै) शीर्षक दुई कथा सङ्ग्रह प्रकाशन भइसकेका छन् ।

विशेषगरी अन्तरराष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्दै आउनुभएका बुढाथोकी अनूदित कृति नेपाली आप्रवासी कामदारहरुको प्रायःउपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिए । ‘मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरुले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।’

पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपरब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ ।