ललितपुर मेयर कपको उपाधि एपीएफलाई



काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स कप टी–२० क्रिकेटको उपाधि जितेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ ’च्याम्पियन’ बनेको हो ।


एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय रनमात्रै बनायो । कोशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् ।

बलिङतर्फ एपीएफकी विनु बुढाले दुई तथा रेखा रावल, सोनु खड्का र नेरी थापाले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायो । एपीएफका लागि कप्तान सीता राना मगरले ७९ र इन्दु बर्माले ५१ रन बनाइन् ।

प्रतियोगितामा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को सहभागिता रहेको थियो ।

प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका थिए ।