मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मिटरब्याजी पीडितको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्याउन माग गरेको हो । कांग्रेसले पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक रहेको बताएको छ ।


बैठकको निर्णयमा भनिएको छ, ‘मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पीडित पक्ष र सरकारबीच शुरु भएको संवाद सकारात्मक छ । पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्याउन र आम नागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।’