माओवादीले जे गरे त्यो जनयुद्ध थिएन, त्यो एउटा हिंसा थियो : ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रुपमा सार्वजनिक बिदा दिएकोप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरुले गरेको युद्ध–जनयुद्ध नभई हिंसा भएको उनले बताएका छन् । उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए । उनले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गरेका छन् ।


उनले भने ‘०५२ सालदेखि नै जनयुद्ध होइन भनेर जनयुद्धको बिरोध गरिराखेको हो । गलत बाटो भनेको । मैले यसको लगातार बिरोध गरेको छु । जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर अब नेताको के स्वार्थ हो, कार्यकर्तालाई सेन्टिमेन्टमा महान परिवर्तन गरिन्छ भनेर लगाइएको थियो। उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिंदैन । त्यो एउटा हिंसा थियो ।’

उनले भने, ‘त्यस हिंसाले द्वन्द्व जन्मायो । दुःखद् परिणाममा देश पुग्यो । त्यसको हामीले व्यवस्थापन गर्‍यौं । जनयुद्ध भएको भए सफल पार्नुपथ्र्यो । ५७ सालमा मैले माओवादी आन्दोलन पनि होइन एउटा समाधान हो जसको समाधान गर्नुपर्छ भनेको थिएँ । हामीले कहिले पनि त्यसलाई महान जनयुद्ध भनेका छैनौँ । महान जनयुद्ध भनेर बिदा गर्ने, राष्ट्रको उत्सव हो भनेर सत्ताको दुरुपयोग गरेर उधुम मच्चाउने, सरकारमा मेरो पार्टी छदाँछँदै प्रचण्डले एकतर्फी रुपमा त्यो गर्नुभयो मैले उहाँलाई आलोचना गरें । मैले त्यतिबेला पनि ठिक भनेको छैन । फागुन १ गते नेपाली जनताले हिंसा दिवसलाई कुन राष्ट्रिय उत्सव हो भनेर मनाउने ? अनि राष्ट्रिय उत्सव भनेर बिदा दिएर अबदेखि वार्षिक क्यालेण्डरमा रहन्छ । त्यो क्यालेण्डरबाट उडाइनेछ । यस्तो कुराहरु । त्यो क्यालेण्डर स्यालेण्डरमा गरेर हुन्छ ? राष्ट्रिय उत्सव, राष्ट्रिय चाड, राष्ट्रिय पर्व हुन्छ ? हिंसा । यो वाहियात काम हो । शहीद घोषणा गर्ने ? कहाँ छानबिन गर्‍यो को–को शहीद हो ? को–को होइन ?’