झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित



पर्वत । झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन् ।

खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन् । सिँचाइको सुविधा भएका ठाउँका कृषकहरुभन्दा सिँचाइको सुविधा नभएका ठाउँका कृषकहरुलाई ठूलो राहत मिलेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षा भएपछि कृषकहरुलाई खेतबारी जोतखन गर्न र बर्खे बाली लगाउन सहज भएको छ ।


गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ । वर्षा नहुँदा चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन ढिलाइ भएको थियो ।

फागुन पहिलो साता रोप्नु पर्ने मकै अहिलेसम्म रोप्न नसकिएको ठूलीपोखरीका कृषक राधा सापकोटाले बताइन् । यसपालि खेतको मकै समयमै नपाक्ने भएको छ । अब लगाएको मकै साउनमा मात्र पाक्ने उनको भनाइ थियो । बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य कृषकहरुको भनाइ थियो ।

सोमबार जिल्लाको जलजला, मोदी, महाशिला, पैँयु, विहादी, फलेवास र कुश्मा नगरपालिका गरी सातवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका कृषकहरु खेतबारीमा व्यस्त हुने भएका छन् । हरेक वर्षको एक पटक हिउँ पर्ने पर्वतको बनौ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए । हिउँ नपरे पनि वर्षा भएकाले बालीनाली लगाउन सहज भएको उनको भनाइ थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताए । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।