आरजु गिरोहको हेपाइ सहन नसकेको भन्दै अर्थविद् डा. स्वर्णिम वाग्लेले छाडे कांग्रेस



काठमाडौँ । वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्लेले औपचारिक रुपमा नेपाली कांग्रेस छोडेका छन् । उनले कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।

आउँदो वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएका हुन् ।


कांग्रेसप्रति अपार सद्भावका बाबजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनको भनाइ छ ।

‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ,’ उनको पत्रमा भनिएको छ, ‘त्यतिञ्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’ डा.वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् ।

यस्तो छ स्वर्णिमको पत्र

प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम