मलावीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४३८ पुग्यो



चक्रवात फ्रेडीबाट प्रभावित मलावीको दक्षिणी क्षेत्रमा थप शव फेला परेपछि मारिनेको सङ्ख्या कम्तीमा ४३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।

विभागले बिहीबार आँधीका कारण ३२६ जनाको मृत्यु भएको र तीन लाख ४५ हजार व्यक्ति तथा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।


उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको सङ्ख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन् ।

आयुक्तले भने, ‘विभाग, मानवीय साझेदारहरू र परिषदहरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।’

मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन् ।