मन्त्रीको भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने



काठमाडौं । सत्ताा गठबन्धन दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन सकिएको हो ।

सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको एक नेताले जानकारी दिए ।


सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न सकेको छैन ।

प्रचण्डले मंगलबार बिहान नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए ।

यता नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भनिएपनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा पनि सहमति जुट्न बाँकी रहेको बुझिन्छ ।