नेपाललाई ‘थ्री नेसन्स’ कपको उपाधि



काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपको उपाधि जितेको छ । फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।


निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले २५ सय अमेरिकी डलर पुरस्कार पाएको छ । प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो ।