रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल सफलले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेजीको माग गर्दै निवेदन दिएका हुन्।

यो पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो । रास्वपाका सभापति लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको उजुरीमा उल्लेख गरिएको छ ।


राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ। जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने सम्बन्धी व्यवस्था छ।  

राष्ट्रिय हितविपरीत रास्वपा दर्ता भएको भन्दै खारेज हुनु पर्ने उजुरीमा जिकिर गरिएको छ।