दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन



बाँके । दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो ।

वर्षे धान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठुलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले बताए । परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरुलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड—१ नामक धानको खेती हुने गरेको छ ।


हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ । यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाइ कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिका बारेमा जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रर्दशनी गरेर आर्कषण बढाउने योजना छ’, ओझाले भने ।

उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ । जिल्लाको बैजनाथ गाउँपालिका– २, ३ र ४ को नौवास्ता, वडा नं ७ को वनकटवा, वडा नं ८ को टिटिहिरियामा सात हजार चार सय २३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् ।

जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगञ्ज र वडा नं ४ को खजुराखुर्दमा चार हजार सात सय ८७ घरधुरी छन् । त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा तीन हजार तीन सय ४४ घरधुरी सो कार्यक्रममा संलग्न भएका परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।

धान जोन समन्वय समितिका संयोजक सर्वजीत विष्टले वर्षे धान भन्दा चैते धानको उत्पादन बढी भएको बताए । उनले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए । धानको बिक्री वितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरुको भनाइ छ ।