काठमाडौँ । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।
उनले यसबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको बताए । उनले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुनपर्ने बताए ।
उनले भने, ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने निर्णय गरेछ । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्यो ? आकास्मिक रुपमा त्यो किन गर्नु पर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्न पर्यो ? त्यो मैले पनि बुझेको छैन । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन ।’
उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताए । उनले नेपाली जनतामा परस्परमा लड्ने, लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने बताए ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्यो ? भनि प्रश्न समेत गरेका छन् । उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताउँदै भने, ‘नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो । हिंसाको श्रृंखला टुंगिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ’, उनले भने, ‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो । हिंसा दिवसलाई क्यालेण्डरमै राख्ने काम भयो । त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो ।’