काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।
उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार भोलि दिउँसो १ बजे संसदमा चुनाव हुनेछ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।
सोहीअनुसार गठबन्धन दलले रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।
नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।