स्याङजामा हेलिकोप्टरका पाइलट कुट्ने ६ जना पक्राउ



स्याङजा । स्याङ्जामा प्रभु एयरको हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना यात्रु र २ जना कुटपिटमा संलग्न स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित सवारहरुलाई कुटपिट गरेका थिए ।


पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले ल्याण्ड गरेका थिए ।