सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ ।’ गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताए ।

उनले समृद्धि, सुशासन र सामाजिक न्यायको सपना पूरा गर्न वर्तमान सरकार निरन्तर कटिबद्ध रहेको समेत प्रस्ट पारे । प्रधानमन्त्री दाहालले भने, ‘देशको विकास, समृद्धि, राष्ट्रिय एकता र लोकतन्त्रका निम्ति इतिहासको विभिन्न कालखण्डमा शहीदहरूले बगाएको रगत र त्यसलाई सम्मान गर्ने प्रक्रियासँग जोडिएको हुन्छ, देश र जनताका निम्ति प्राणउत्सर्ग गर्ने महान् शहीदप्रति जति सम्मान हुन्छ, त्यस देशमा राष्ट्रिय एकता, शुसासन, समृद्धि र विकासको यात्रा पनि त्यति नै सहज ढङ्गले अगाडि बढ्न सक्दछ ।’


नेपालमा अहिलेसम्म भएका शहीदका अभिलेख राख्ने र त्यसलाई राष्ट्रको सम्पत्ति र नेपाली जनताको आस्थाको धरोहरका रुपमा लिने उहाँको भनाइ छ । राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क निर्माणका निम्ति अर्थ मन्त्रालयबाट निकासा हुन बाँकी केही रकम जतिसक्दो चाँडो निकासाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पार्क निर्माणलाई शहीदको सम्मान र शान्ति सम्झौताको स्मृृतिको पार्कका रुपमा महसुस गरेको उल्लेख गरे ।

उनले भने, ‘आज यो पार्क उद्घाटन गर्दैगर्दा मैले विस्तृत शान्ति प्रक्रियामा हस्ताक्षर गरेको दिनलाई सम्झिएको छु, त्यही शान्ति सम्झौताले नै नेपाल आज यो राजनीतिक प्रक्रिया अगाडि बढेको छ ।’ प्रधानमन्त्री दाहालले पार्कमा प्रथम शहीद लखन थापादेखि पछिल्लो आन्दोलनमा शहीद भएका शहीदका अभिलेखीकरण राख्ने कार्यको उच्च प्रशंसा गर्दै शहीदको सम्मान युगयुगसम्म अमर रहने विश्वास व्यक्त गरे ।

पार्कमा १२ हजार ६५ जना शहीदहरुको अभिलेखीकरण गरिएको छ । त्यसैगरी एक हजार तीन सय ५७ बेपत्ताका अभिलेखीकरण गरिएको छ । प्रधानमन्त्री दाहालले अभिलेखीकण गरिएको शहीद र बेपत्ताका नाम अभिलेखमा छुटेको बताउँदै सरकारका तर्फबाट मन्त्रिपरिषद्मा निर्णय गरेर छुटेका शहीदको पनि अभिलेख राख्नका निम्ति पहल गर्ने बताउनुभयो । पार्कलाई अझ सुन्दर र व्यवस्थित बनाउने, शहीदहरुको बलिदानबाट प्रेरणा लिएर राष्ट्रिय एकतालाई अझ मजबुद बनाउने उनको भनाइ छ ।