‘राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने’



काठमाडाैँ । कृषि उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंकले ‘एक पालिका एक उत्पादन’ मा जोड दिएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय खाद्य बैंक लिमिटेडको दोस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले खाद्य बैंकलाई स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै पोसिलो आहारको लागि दीगो कृषि उत्पादन गरिनुपर्ने बताए ।

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खाद्य बैंकले रैथाने बालीको सङ्कलन र बजारीकरण गर्दै उपभोक्ता माझ गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने कार्य थालेको भन्दै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले देश कृषि प्रधान भएर पनि कृषि उत्पादन विदेशको भर रहेको भन्दै रैथाने बाली उत्पादनका लागि किसानलाई प्रोत्साहन र सहुलियतको व्यवस्था गरिनुपर्ने बताए ।


प्राडा मोहनप्रसाद पन्थीले आधुनिक कृषि उत्पादनले रैथाने बाली उत्पादनमा ह्रास आएको र यसले गुणस्तरहीन खाद्यवस्तुको व्यापार मौलाइरहेको भन्दै परम्परागत रैथाने खानाको संरक्षण प्रवर्द्धनका लागि अग्र्यानिक उत्पादनमा कृषकलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

खाद्य बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले रैथाने बाली उत्पादन तथा बजारीकरण गर्दै उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन संस्था सफल भएको बताए । ‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन, हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको बैंकले आफ्ना कृषि उत्पादन चार प्रदेश अन्र्तगतका २३ जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अग्र्यानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागि पर्ने उहाँले जानकारी दिए ।

बैंक स्थापनाको दुई वर्षमा रु ३० लाख नाफामा गएको छ । खाद्य बैंकका सल्लाकार दुर्गाबहादुर थापा, पूर्वसांसद जयराम दाहाल, योगेन्द्रनारायण शाह, दुर्गानाथ गौतम, पद्मा खड्का, प्राडा जीवनाथ धिताललगायतले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने धारणा राखे ।