बन्दीपुर क्षेत्रका ‘होर्डिङ बोर्ड’ हटाइँदै



तनहुँ । तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ ।बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर बनाउन गाउँपालिका जुटेको छ । बन्दीपुरको सुन्दरता कायम गर्नका लागि बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु गरेको छ ।

बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको हो । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए ।


‘सम्बन्धित होटल व्यवसायीकै उपस्थितिमा मापदण्डविपरीतका राखिएका होर्डिङबोर्ड हटाउन थालेका छौँ, जथाभावीरुपमा राखिएका होर्डिङबोर्डले बजार नै कुरुप देखिने अवस्था आएको थियो’, गाउँपालिकाका प्रवक्ता श्रेष्ठले भने । देश तथा विदेशबाट बन्दीपुर आउने पर्यटकलाई बन्दीपुरको सुन्दरता देखाउने अभियानमा लागिएको उनले बताए । गाउँपालिकाको सो अभियानमा स्थानीयवासीले सहयोग गरेका छन् ।

बन्दीपुरको सौन्दर्यतालाई कायम राख्नका लागि गाउँपालिकाले होटल अगाडि मासु पोल्न र चुलो बनाउन प्रतिबन्ध लगाएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको मुख्य बजारको सौन्दर्यका लागि यो निर्णय सकारात्मक रहेको बताए ।