निहारिका र शिवराजबीच मिलापत्र : मुद्दा फिर्ता लिने, श्रीमान–श्रीमती भएर बस्ने



काठमाडौँ । निहारिका राजपुत भनिने सोनालीकुमारी सिंह र शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ ।

बलात्कार मुद्दामा जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूतले अन्ततः शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी हुन् । सोमबार धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै निहारिकाले मिलापत्र गरेकी हुन् ।


आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।
धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलन समेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् ।

तर गत माघ १५ गते आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । निहारिकाको निवेदनमा आफूहरू २०७५ सालदेखि पति पत्नी भई बसेको र आफूहरुबीचको सम्बन्धबाट एउटा बालकको समेत जन्म भएको उल्लेख गरेकी छिन् । निहारिकाको निवेदनमा ‘पति शिवराज श्रेष्ठले खान लाउन नदिएको, मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको’ आरोप लगाएकी थिइन् ।

त्यसको भोलिपल्ट अर्थात् माघ १६ गते नै प्रतिवादी शिवराज श्रेष्ठले प्रतिउत्तर दिँदै आफूहरुबीच प्रेम सम्बन्ध रहेको, विवाह गरी बसेको र आफूहरुबीचको सम्बन्धबाट एक बालकको जन्म समेत भएको स्वीकार गर्दै आफूले कुटपीट नगरेको र वादीले अंश लिन चाहेमा दिने भनेका छन् ।

माघ १६ गते नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भई अब ‘श्रीमान–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएको छ । धनुषा जिल्ला अदालतमा श्रीमान् र श्रीमती मिलेर बस्ने मिलापत्र भएसँगै अब निहारिकाले उच्च अदालत जनकपुरमा दिएको बलात्कार मुद्दाको पुनरावेदनको निवेदन पनि प्रभावित हुने भएको छ । निहारिका आफैले अदालतमा निवेदन दिई आफूहरू मिलेर बस्न लागेको ब्यहोरा उल्लेख गर्न लागेकी छिन् ।

m
m1
m2