निर्माण सुरु भएको आठ वर्षपछि लिफ्टिङ खानेपानी आयोजना सम्पन्न



धनकुटा । चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका बासिन्दाका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय ११ घरधुरीलाई राहत पुग्ने भएको छ ।

पालिकाको वडा नं ५ का लागि २०७१ सालबाट सुरु भएको क्रमागत बोधे लिफ्टिङ खानेपानी आयोजना पूरा भएर परीक्षण वितरण सुरु गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको दुई करोड ३० लाख २९ हजारको लागतमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाअन्तर्गत सञ्चालित आयोजनाको गएको साउनबाट परीक्षण सुरु गरिएको हो ।


खानेपानीको चरम अभाव भएको उक्त क्षेत्रमा बर्खामा सङ्कलित पानी सकिएपछि गाउँवासीले प्रतिलिटर रू दुईका दरले खानेपानी किनेर खाँदै आएका थिए । पानी किन्न नसक्नेहरुका लागि घण्टौँ लगाएर विभिन्न स्थानका धारा तथा कुवाबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो ।

खानेपानी आयोजना पूर्णरुपमा सञ्चालनमा आएपछि बोधेवासीले पानीको समस्याबाट मुक्ति पाउने भन्दै बोधे खानेपानी निर्माण व्यवस्थापन समितिका अध्यक्ष आधुनिक देवानले खुसी व्यक्त गरे । “यो खानेपानी नहुँदा अधिकांश वडावासीले बर्खाको पानी थापेर खाँदै आएका थिए”, देवानले भने । “अब यो खानेपानीले गाउँवासीलाई काकाकुलको अवस्थाबाट मुक्ति दिनेछ ।”

खानेपानी लिफ्टिङ गर्ने मोटर बिग्रिएर अहिले आंशिक मात्र वितरण भइरहेको उनले जानकारी दिए । केही समयपछि समस्याको समाधान गरेर सबैका घरमा खानेपानीको सुविधा पु¥याइने देवानले जानकारी दिएका छन्।

वडाको मौन खोलाबाट गढीगाउँसम्म डेढ किलोमिटर लिफ्टिङ गरिएको उक्त खानेपानी वितरण परीक्षण सफल भएको डिभिजन कार्यालय धनकुटा प्रमुख राजकुमार मण्डलले जानकारी दिए । अहिले देखिएको सामान्य प्राविधिक समस्याको समाधानसँगै बाँकी भएका धारा वितरणका कामहरु सकिएपछि खानेपानी चाँडै सञ्चालनमा आउने उनले जानकारी दिए ।