निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : उद्योगमन्त्री



कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताए । नेपालको अर्थतन्त्र यति बेला सङ्कुुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।


सरकारले आफ्ना २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै उनले एक साताभित्र आफ्नो मन्त्रालयले पनि कार्ययोजना निर्माण गर्ने जानकारी दिए । यसमा उद्योग वाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरि बजेट विनियोजनमा जोड दिइने बताए । निजी क्षेत्रको अभिभावक नपाएको गुनासो बढेको भन्दै मन्त्री भण्डारीले ती गुनासोलाई सम्बोधन पहिलो प्राथमिकता रहेको पनि प्रतिबद्धता जनाए ।

कपिलवस्तु जिल्लामा उद्योगको सङ्ख्या धेरै रहेकाले अहिले जटिल समयमा उद्योगलाई बचाउनुपर्नेमा उनको जोड थियो । धार्मिक तथा पर्यटकीय हिसाबले पनि कपिलवस्तु जिल्ला ऐतिहासिक रहेकाले यहाँ रहेका स्थलमा पर्यटकलाई आकर्षित गराउनुपर्ने उनको भनाइ थियो ।